add

जुम्ला — जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका कामदारले काम सम्पन्न भइसक्दा पनि पारिश्रमिक पाएका छैनन् । जाजरकोट घर भएका ठेकेदार राजेन्द्र रसाइलीले कामदारलाई काम गरेवापतको पारिश्रमिक नदिएका हुन् ।

कामदार दलबहादुर नेपालीले २०८० सालमा डोल्पाको जगदुल्ला गाउँपालिका २ झ्यालकोटमा भवन निर्माण र २०८१ सालमा जुम्लाको सिंजा गाउँपालिका जाँचमा खानेपानी निर्माणको काम गरेका थिए । जगदुल्लाबाट साढे ३ लाख रुपैयाँ र सिंजाको जाँचबाट ६ लाख ९५ हजार रुपैयाँ ठेकेदारले ठगेको कामदारहरुको भनाइ छ ।

‘काम सकेर योजना सञ्चालनमा आइसकेका छन् । ठेकेदार रसाइली सम्पर्कमा छैनन्’, दलबहादुरले भने, ‘ठेकेदारको खोजी गरेर कामदारको पारिश्रमिक उपलब्ध गराइदिनुपर्ने माग गरेका छौं ।’ उनले कामदारको श्रमशोषण गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

डोल्पाको जगदुल्लामा ४० जना र सिंजाको जाँचमा ७१ जना कामदारले काम गरेका थिए । यी दुवै स्थानको ठेक्का रसाइलीले नै लिएका थिए । ‘लामो समयसम्म पारिश्रमिक पाउने आशामा बस्यौं,’ दलबहादुरले भने, ‘अहिले सम्पर्कविहीन भएपछि मात्रै ठगिएको थाहा भयो ।’

उनीहरुले ठेकेदारविरुद्ध छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । ‘हामीले श्रमको मूल्य पाएनौं । पहिले फोन गर्दा घण्टी गइरहन्थ्यो तर उठ्थेन,’ दलबहादुरले भने, ‘अहिले त फोन नलाग्ने बनाइसके ।’

Facebook Comments Box