गमगढीबाट सामान लिएर मुगु कार्मारोङ जाँदै गरेका१० खच्चर मरे

विद्युत् सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा १० खच्चर मरेका छन्। जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको थियो।
प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नगर्दा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चर धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे।
उनले भने, ‘पानी परिरहेको बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहा भएन। एक्कासि १० खच्चर करेन्ट लागेर मरे। मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएकाले सामान्य झड्का मात्र लाग्यो, म बाँचे।’ उनको भनाइअनुसार एउटा खच्चरको मूल्य १ लाख ५० हजारभन्दा बढी पर्छ। उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरेका छन्।
छायानाथ रारा–१ का कर्णबहादुर मल्लका ४, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका ३–३ वटा खच्चर मरेका छन्। गत शुक्रबार मात्र वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैंसी करेन्ट लागेर मरेको थियो।
नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नगर्दा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए। केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए। रासस