add

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न अघि बढाइएको बहुचर्चित भेरी पम्पिङ आयोजनाका लागि कर्णाली प्रदेश सरकारले ८० करोड रकम व्यवस्थापन गर्ने भएको छ ।

उक्त रकम चार आर्थिक वर्षमा व्यवस्थापन गर्नुपर्ने छ । मंगलबार केन्द्रीय खानेपानी मन्त्रालय र प्रदेशको जलस्रोत तथा ऊर्जा मन्त्रालयबिच भएको ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागितामा साझेदारी गर्ने’ सम्झौतामा यसबारे उल्लेख छ ।

आयोजनाको प्रक्षेपण अनुुसार चार वर्षमा ८० करोड ४१ लाख रकम व्यवस्थापन गर्नुपर्ने छ । जस अनुसार आर्थिक वर्ष ०८२/०८३ मा २० करोड ४ लाख, ०८३÷०८४ मा २४ करोड २३ लाख र ०८४÷०८५ मा २३ करोड १३ लाख रकम व्यवस्थापन गर्नुपर्ने छ । चालु आर्थिक वर्ष (०८१÷०८२) मा १३ करोड रकम व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।यद्यपि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले बाँकी बजेट असार मसान्तसम्म व्यवस्थापन गर्ने छ । यद्यपि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले बाँकी बजेट असार मसान्तसम्म व्यवस्थापन गर्ने छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई, वीरेन्द्रनगर नगरपालिकाका आयोजना प्रमुख (सीडीई) सञ्जीव कुमार साहले बाँकी रकम माग गरिएको रातोपाटीलाई बताए ।

प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्रवक्ता सीडीई पदमराज देवकोटाले आयोजना कार्यालयले माग गरेको ९ करोड ५० लाख रकम व्यवस्थापन गरिने बताए ।

‘सरकारले बजेटमा साढे तीन करोडमात्रै विनियोजन गरेको थियो । अहिले भएको सम्झौता अनुसार हाम्रो लागत सहभागिता रहन्छ,’ उनले रातोपाटीसँग भने, ‘अब कति चाहिन्छ, वनदेखि अन्य थुप्रै ठाउँमा समस्या रहेको कुरा भन्नुभएको छ । पुनः चिठी पठाउनुहोला भनिएको छ । त्यो आधारमा हामी थप बजेटको व्यवस्थापन गर्छौं ।’

सरकारसँग बजेट नभएपछि आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरिने देवकोटाको भनाइ छ । अन्य वर्षहरूको लागि प्रक्षेपण सिलिङ नै आइसकेकाले सोही अनुसार प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने उनले बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरवासीको तिर्खा मेट्ने बहुचर्चित आयोजना हो यो । अहिले पहिलो चरणका काम भइरहेका छन् । भेरी नदीको पानीलाई सुर्खेत उपत्यकामा ल्याउनका लागि तीन तहका सरकारले साझेदारीमा बजेटको व्यवस्थापन गरिरहेका छन् । चालु आर्थिक वर्षमा १ अर्ब २० करोड ९ लाख ९८ हजार रकम विनियोजन गरी काम भइरहेको छ । केन्द्र सरकारले १ अर्ब ६ करोड ५९ लाख ९८ हजार, कर्णाली सरकारले ३ करोड ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले १० करोड रकम विनियोजन गरेका थिए । उक्त बजेटका पहिलो चरणको काम धमाधम भइरहेको आयोजना प्रमुख साहले बताए ।

Facebook Comments Box