add

जुम्ला, चन्दननाथ नगरपालिकामा आत्म सम्मानका सहकार्य (क्याड) जुम्लाको आयोजनामा तथा प्लान इन्टरनेशनलको वित्तीय साझेदारीमा सञ्चालन गरिएको सीपमूलक तालिम सम्पन्न भएको छ। यस तालिमबाट कनकासुन्दरी गाउँपालिकाका १५ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

तालिम समान्य तहबाट सुरु गरिएको थियो । हाउस वाइरिङ तालिममा १ जना, ब्यूटी पार्लर तालिममा १ जना, सिलाई–कटाई तालिममा ५ जना तथा ड्राइभिङ तालिममा ८ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरूले तालिम पूरा गरेका छन्। तालिमको समन्वय पाण्डवी बारकोटीले गरेकी थिइन्।

तालिमका प्रशिक्षक राधा गुरुङका अनुसार तालिमपछि सिकाइएका सीपहरूलाई व्यवहारमा लागू गर्न सके महिलाहरू आर्थिक रूपमा सक्षम बन्न सक्ने बताइन्।हाउस वाइरिङ तालिम लिएका प्रशिक्षार्थी बखत कार्कीले तालिमपछि सिकेको सीपलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “अब सदैव केही गर्ने, सिकेको सीपलाई भोलि सही ठाउँमा प्रयोग गर्ने, समयको सही सदुपयोग गर्ने र अरूलाई पनि सिकाउने लक्ष्य लिएको छु।”

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि हंसराज न्यौपानेले सहभागीहरूलाई बधाई दिँदै सीपलाई सही ढंगले प्रयोग गर्न प्रेरित गरे। उनले भने, “नेपालमा रोजगारीका धेरै अवसरहरू छन्, यदि सही रूपमा सीपको प्रयोग गर्न सकियो भने विदेशिनुको आवश्यकता हुँदैन। तालिम लिएका तपाईंहरू अब आत्मनिर्भर बन्नुहुनेछ भन्ने विश्वास छ।”

उक्त तालिमबाट सहभागीहरूले सीप सिकेर आफूहरूलाई स्वरोजगार बनाउने अवसर प्राप्त गरेको बताउँदै आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Facebook Comments Box