add

जुम्लामा पहिचान नभएको रोगका कारण मौरीहरू धमाधम मर्न थालेपछि किसानहरूले मौरी विशेषज्ञ झिकाउने निर्णय गरेका छन्। जुम्लाका किसानले गोदावरीस्थित मौरी विकास केन्द्रबाट विशेषज्ञ ल्याउने भएका हुन्।

बुधबार भएको मौरी किसान र सरोकारवालाबीचको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र समाधानको उपाय खोजिने निष्कर्षमा पुगेको किसानहरूले जानकारी दिएका छन्।

छलफलले मौरी विशेषज्ञ झिकाउने, जिल्लाभर मौरी घारहरूको यकिन तथ्यांक संकलन गर्ने, वार्षिक उत्पादन हुने मह र जुम्ली महको बजारको पहिचान गर्ने निर्णय गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका अध्यक्ष दीपबहादुर मल्लले बताए।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रतिनिधि लछिराम महतले मौरीहरूको मृत्युका कारण किसानहरू मर्कामा परेको भन्दै मौरी बचाउन जिल्लाभर अभियान चलाउनुपर्ने बताए।

उनले जुम्लाको मह भन्दै अन्यत्रको मह किनबेच भइरहेकोले यसको नियमन गर्न निकाय सचेत हुनुपर्ने तर्क गरे।

कर्णाली मौरीपालन सहकारीका सचिव नारायण चौलागाईंले चरिचरन क्षेत्र घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले समस्या देखिएको बताए।

जुम्लामा खोपे, मुढे, टोड्के र फाँके घारहरूमा मौरीपालन हुँदै आएको छ। सेरनासेरना जातको मौरी जुम्लामा पालिने भएकाले समयमै रोगको पहिचान हुनुपर्ने किसानहरूको माग छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालनका लागि जुम्ला उपयुक्त स्थल भएको बताए। उनले मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्ने तर्क गरे।

उनले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली झिकाउन स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। जडिबुटी र फलफूलको राजधानी मानिएको कर्णालीमा मौरीपालन फैलाउन सकिने उनको टिप्पणी थियो।

कर्णाली मौरीपालन सहकारी संस्थाका उपाध्यक्ष धनजीत बुढाले यहाँको मौरीपालनको इतिहास, समस्या, चुनौती, अवसर र समाधानका उपाय समेटिएको कार्यपत्र प्रस्तुत गरे। छलफल कार्यक्रममा मौरीपालक किसानहरूले मौरीमा देखिएको रोगको उचित पहिचान गरेर औषधिपचार गर्नुपर्ने माग राखे।

पातारासी गाउँपालिका-७, पट्मारा गाउँका किसान टेकबहादुर बुढाले पाँच वटा घार मरेको गुनासो गरे। रहरले प्रति घार ८ हजार रुपैयाँमा किनेको मौरी मरेको उनले बताए।

चन्दननाथ नगरपालिका-३ का बालकृष्ण उपाध्यायले पनि मौरीको रोग पहिचान नहुनुका कारण समस्या भएको बताए। मौरी घारदेखि बाहिर निस्कन नसक्ने, उड्न नसक्ने र मर्ने गरेको तर रोगको पहिचान नभएकाले घाटा बेहोर्नुपरेको उनीहरूको भनाइ छ।

जिल्लाभर सयौं किसान मौरी मर्ने रोगका कारण चिन्तित छन्। कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लाभर ८ हजार ४ सयभन्दा बढी मौरीका घार रहेका छन् र रोगका कारण करोडौं रुपैयाँको क्षति भइरहेको छ।

Facebook Comments Box