दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि ल्याइएका ड्रिल मेशीन नेपालगञ्जमा रोकिएक

सुर्खेत । बहुप्रतिक्षित दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि ल्याइएका ड्रिल मेशीन नेपालगञ्जमा रोकिएका छन् । भारतको कोलकाताहुँदै नेपालगञ्ज आइपुगेका ड्रिलिङ मेशीनहरु सामानमा भन्सार छुटको पत्रमा नाम फरक परेपछि नेपालगञ्जमा रोकिएका हुन् । भन्सार छुट पत्रमा नाम त्रुटीहुँदा आठ ट्रक सामान भन्सारमा रोकिएको पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रका सिनियर डिभिजनल भुगर्भविद डा. गणेशनाथ त्रिपाठीले नेपालकर्मलाई जानकारी दिए ।
चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न लागिएको हो । यसका लागि ९ जना चिनियाँ प्राविधिकहरु दैलेखमा पुगेर काम गरिरहेका छन् । ‘ड्रिल मेशिन हिड्नु पूर्व नै सबै सम्झौता गरिएको थियो,’ त्रिपाठीले भने, ‘तर खानी तथा भूगर्भ विभाग हुनुपर्नेमा पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्र भएपछि सामान नेपालञ्जमा रोकिएका हुन् ।’
खानी तथा भूगर्भ विभागले डेढ महिना अघि नै नाम सच्याएर अर्थ मन्त्रालयमा पठाएपनि अर्थबाट स्वीकृत नहुँदा नाकामा सामान अलपत्र परेको विभागका प्रवक्ता मोनिका झाले जानकारी दिइने ।
समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा रोकिएको र समस्या सुल्झाउन पहल भएरहेको झाले बताइन् । ‘खासै ठूलो विषय हैन्, तर अर्थले नै सम्पूर्ण कर तथा महसुल छुट दिएको पत्र नपठाइदिँदा रोकिएको हो । हामी लागिरहेका छौं, एकदुई दिनमा समस्या समाधान हुन्छ,’ झाले भनिन् ।