कर्णाली प्रदेशमा पहिलाे महिला सम्मेलनको आयोजना गरिदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गर्न लागिएको छ । राजधानीको नगरपालिका वीरेन्द्रनगरले यहीँ फागुन २१ गते वीरेन्द्रनगरको सिटी हलमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो ।
आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागेको छ । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरु सहभागी हुनेछन् । ११४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइने ।
उनकाअनुसार कार्यक्रममा मुख्यगरी उपप्रमुख/उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ । ‘कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरिसकेका छौं,’ ढकालले भनिन्, ‘अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासंघ, नगर शिक्षक महासंघ विभिन्न संघ संस्थाहरुसँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुराेध गरिसकेका छाैं ।
जुनुसुकै क्षेत्रमा काम गरिरहेपनि महिलाहरुको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र नै जारी गर्ने कार्यक्रम तय भएको उनको भनाई छ । कार्यक्रममा प्रदेशभरबाट करिव एक हजार जना सहभागी हुनेछन् ।