add

जुम्लाको सिंजा गाउँपालिकामा फागुन ८ र ९ गते दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। क्यान्सर तथा पाठेघर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

सिंजा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले चुनावी घोषणापत्र मार्फत जनतालाई नि:शुल्क स्वास्थ्य उपचारको बन्दोबस्त गरिने बाचा गरेका थिए। सोही बमोजिम निश्चित समयको अन्तरालमा स्वास्थ्य शिविर मार्फत उपचारको बन्दोबस्त गरिँदै आएको अध्यक्ष धितालले बताए।

‘हामीले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीलाई राखी चुस्त राखेका छौं। जनस्वास्थ्यलाई ख्याल गरि स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘सरकाले ९२ प्रकारका ओैषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर हामीले सय भन्दा बढी प्रकारका ओैषधि उपलब्ध गराउँदै आएका छौं।’

उनका अनुसार गम्भीर प्रकृतिका रोगको समेत नि:शुल्क उपचारको प्रबन्ध मिलाउन पालिकाले बेलाबेला स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।

दुई दिने नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जनाले प्रत्येक्ष सेवा लिएको सिजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए। उनका अनुसार पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जनामा पाँच जना महिलाको पाठेघरमा रिङ राखिएको छ।

‘पालिकाले संचालन गरेको स्वास्थ्य शिविरबाट तीन जनाको सर्जरी गर्नु पर्ने देखिएको छ भने स्वास्थ्य परिक्षणबाट पाँच जनामा क्यान्सर भएको शंका गरिएको छ,’ उनले भने, ‘तीन जनामा क्यान्सरको संक्रमण देखिएको छ।’कर्णालीका ग्रामिण भेगका अधिकांश महिलामा स्वास्थ्य समस्या देखिने गरेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर राजिव शाहले बताए। उनले भने, ‘अधिकांश महिलालाई पाठेघरको समस्या छ। कठोर परिश्रमले महिलाको स्वास्थ्य जटिल बन्दै गएको छ।’

Facebook Comments Box