add

रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रहरी कार्यालय, रौतहटका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिवार दुई पक्षबीच झडप भएको थियो ।  एक समुदायका मानिसको ढुंगा प्रहारबाट अर्को समुदायका मानिस घाइते भएका छन् ।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको ती अधिकारीले बताए । 

रौतहट प्रहरीका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डीजे बाजा बजाएको भन्दै अर्को पक्षले अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरू बाटोमै मूर्ति राखेर बसेपछि झडपको अवस्था सिर्जना भएको थियो । पछि प्रहरी र स्थानीयको पहलले सहमति भएपछि स्थिति समान्य भएको थियो । 

तर केही उच्छृंखल व्यक्तिले ढुंगामुँडा गरेपछि स्थिति फेरि तनावग्रस्त बनेको हो । यसले झडपको स्थितिसम्म ल्याएको छ । 

Facebook Comments Box