add

काठमाडौं । इन्द्रेणीका पाँच कलाकारले सञ्चालक कृष्ण कँडेलले आफूहरूलाई  कुटपिट गर्दै अपमानजनक ढंगले जागिरबाट निकालेको गुनासो गरेका छन् । यस्तो गुनासो गर्नेमा कँडेलको परिवारभित्रकै सदस्यसमेत छन् ।

विगत १२ वर्षदेखि इन्द्रेणीमा कार्यरत कलाकारले फेसबुक लाइभमा आएर अपमानजनक ढंगले इन्द्रेणी व्यवस्थापनले त्यहाँबाट बहिर्गमन गराएको गुनासो गरेका हुन् ।

जागिरबाट निकालिएको गुनासो गर्नेहरूमा खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे नाताले कृष्णका क्रमशः भाइ र साला पर्ने हुन् ।

गायिका शर्मिला श्रेष्ठले लामो समयदेखि त्यहाँ कार्यरत आफूलगायत कलाकारलाई अपमानजनक ढंगले हटाइएको गुनासो गरिन् । सुरुमा सबै कलाकारलाई बिदा गर्ने भनी हस्ताक्षर गराइए पनि अन्तिममा आफूलगायत केही व्यक्तिलाई मात्र त्यहाँबाट हटाइएको उनको जिकिर छ ।

इन्द्रेणी कार्यक्रमका लागि आफ्नो सम्पूर्ण समय सुम्पिए पनि अन्तिममा व्यवस्थापनले धोका दिएको उनले बताइन् ।

कृष्ण कँडेलबाट कलाकारमाथि विगतदेखि नै ज्यादति हुँदै आएको दाबी पनि उनले गरेकी छन् । कृष्ण कँडेलले भनेको कुरा पूरा गर्न तयार नहुँदा विगत तीन वर्षदेखि आफूलाई दपेटेको उनले आरोप लगाइन् । तर त्यो के थियो भन्नेबारे चाहिँ उनले केही खुलाइनन् । ‘समय आएपछि यी सबै कुरा सार्वजनिक गर्नेछु,’ उनले भनिन् ।

इन्द्रेणीले कलाकारमाथि ज्यादति गरे पनि अहिलेसम्म कसैले नबोलेको तर आफूले मुख खोलेको उनले बताइन् । यसअघि इन्द्रेणीबाट टीका सानु, मीना लामालगायत कैयन् कलाकार बाहिरिएका थिए । तर उनीहरूले आफ्नो बहिर्गमनबारे औपचारिक रूपमा मुख खोलेका छैनन् । शर्मिला सञ्चालक कृष्ण कँडेलको अपमान सहन नसकेरै यी सबै कलाकार बाहिरिएको दाबी गर्छिन् ।

आफू अन्यायमा परेका बेला इन्द्रेणीमा कार्यरत अन्य कलाकारले पनि आफूलाई अपमान गरेको उनले बताइन् । उनीहरूले साथ दिनुको साटो उल्टो बोल्नसमेत कन्जुस्याइँ गरेको उनको भनाइ छ ।

४२ मिनेट २१ सेकेण्ड लामो फेसबुक लाइभका क्रममा ठाउँठाउँमा भक्कानिँदै उनी रुनसमेत पुगिन् ।

Facebook Comments Box