२ सय ४९ जना प्रतिवादी बनाएर अख्तियारमा मुद्दा दायर भएपछि बसोबास नै उठ्ने स्थानीयको चिन्ता

धनगढीः नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र उक्त निर्णय प्रक्रियामा संलग्न भएका २ सय ४९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कैलालीको टीकापुरमा सार्वजनिक जग्गा अनियमिततामा अहिलेसम्मकै सबैभन्दा बढी २ सय ४९ जना प्रतिवादी बनाएर अख्तियारमा मुद्दा दायर भएपछि बसोबास नै उठ्ने स्थानीयको चिन्ता छ । नगर विकास समितिका तत्कालीन अध्यक्षहरुले नै नक्कली कागजपत्र खडा गरेर जग्गा वितरण गरेको पाइएको हो। नगर विकास समिति ऐन २०१३ को दफा ३ बमोजिम २०२८ साउन १ गते गठन भएको टीकापुर विकास समितिलाई जंगल फँडानी गरेर बस्ती बसाल्ने जिम्मेवारी दिइएको थियो।समितिका अध्यक्षलाई त्यसबेला एक व्यक्तिलाई घडेरी चार कट्ठा र खेत ४ बिघासम्म वितरण गर्नसक्ने अधिकार थियो। टीकापुर क्षेत्रमा दुई हजार एक सय ७३ बिघा जग्गा विभिन्न काममा प्रयोग गर्ने उद्देश्य थियो। त्यसमध्ये एक हजार बिघामा कृषि फार्म खोली यान्त्रिक खेती गर्ने, आठ सय बिघा सुकुम्बासी, किसान परिवारलाई वितरण गर्ने र तीन सय ७३ बिघा नदीनाला संरक्षण गरी बाटो बनाउने र नगर बसाउने योजना थियो।
