add

जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । त्रिभुवन विश्वविद्यालय आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस एकाइ समितिले क्याम्पसमा ताला लगाएको हो । जुम्ला बहुमुखी क्याम्पसमा बिए र मास्टर तह गरी करिब आठ सय विद्यार्थी रहेका छन् । करारका शिक्षक आन्दोलित भएपछि क्याम्पसमा पठनपाठन पनि प्रभावित भएको छ । 

सबै कानुनी प्रक्रिया पूरा गरी नियुक्त भएका शिक्षकलाई वेलावेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्नेजस्ता अमर्यादित कार्य गरिएको भन्दै ताला लगाइएको त्रिवि आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस एकाइ समितिका अध्यक्ष सुवासचन्द्र शाहीले बताए ।

‘बारम्बार ध्यानाकर्षण गराउँदा पनि शिक्षकको अपमान गराउने काम भएको हुँदा माग सम्बोधन नहुन्जेलका लागि क्याम्पसको लेखा शाखा, प्रशासन शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ,’ उनले भने ।

‘त्रिवि कार्यकारी परिषद्को निर्णयले शिक्षण सहायकले पाउने पारिश्रमिक र सेवा सुविधासमेत दिने उल्लेख गरे पनि अतिरिक्त कुनै सुविधा नदिएको तथा लिखित जिम्मेवारी दिइएको अवस्थामा समेत तोकिएको सेवा सुविधा नदिई होच्याउने गरी बोल्नु घोर अपमान भएको हाम्रो ठहर छ । जुम्ला बहुमुखी क्याम्पसमा त्रिवि कार्यकारी परिषद्काे निर्णयअनुरूप नियुक्त शिक्षकहरूको हकहित दिनुको साटो उल्टो मानमर्दन गर्ने काम भएको हुँदा सहेर बस्न नसकिने हुनाले तालाबन्दी गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

जुम्ला बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन तथा सञ्चालक समितिको विभिन्न बैठकबाट पारित भएका निर्णयअनुरूप पदीय जिम्मेवारी दिइएका शिक्षकहरूलाई सेवा सुविधा नदिई गरिएको अपमानजनक व्यवहार गरिएको अध्यक्ष शाहीले बताए ।

‘करारका शिक्षकहरूको हकहित र मानमर्यादाको अवहेलना गरेकाले अन्य पाउने सेवा सुविधाको माग गर्दासमेत नदिएको हुनाले अन्तिम विकल्प प्रयोग गर्न बाध्य भएका छौँ,’ उनले भने, ‘यो आन्दोलनबाट हुने सम्पूर्ण समस्याको सम्पूर्ण जिम्मेवारी स्वयं क्याम्पस प्रमुखले लिनुपर्नेछ ।’

क्याम्पस प्रमुख डा. ओमप्रकाश आचार्यले करारका शिक्षकसँग बसेर छलफल गरी तत्काल समस्या समाधान गरी पठनपाठन गर्ने वातावरण सिर्जना गर्ने बताए। 

Facebook Comments Box